सुरजले रोपेको यही बीउ आज ‘भुजेलीय किवी फार्म’ का रूपमा हुर्किएको छ । उनले श्रम, सीप र सम्भावनाबाट कृषि क्षेत्रमै एउटा शान्त क्रान्ति सुरु गर्ने महत्वाकांक्षी अठोट लिएका छन् । सुरजका लागि किवी खेती, खेतीमा मात्रै सीमित थिएन, आँटसँगै सपना पनि थियो ।
दुई जना साथीलाई साथमा लिएर किवी खेती सुरु गरेका सुरज अहिले एक्लै छन् । दुवै साथी केही वर्षअघि नै विदेश हानिए । ‘तीन जना मिलेर किवी खेती सुरु गरेका हौं । दुई जना साथी विदेश गए । अहिले एक्लै किवी खेती गरिरहेको छु,’ उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिड हेर्दा जो कोहीलाई लाग्न सक्छ, नेपाली युवालाई स्वदेशमै स्वरोजगारभन्दा वैदेशिक रोजगारमा लगाव बढी छ । नेपालको व्यापार र बजारको समस्यासँगै राज्यको साँघुरो नीति, व्यवसायको सुरक्षा र जनशक्ति अभाव लगायतका कारण स्वदेशमै स्वरोजगार बन्नेहरूको चाहना विदेश यात्रामा टुंगिएको छ ।